काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट बनाउन नसकिएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले केपी शर्मा ओली सच्चिन तयार नभएको बताएका हुन्।
प्रधानमन्त्रीलाई लक्षित गर्दै नेपालले भने, ‘कम्युनिस्ट पार्टी मार्क्सवाद–लेनिनवादको सिद्धान्तमा चल्छ। कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तमा चल्छ। कम्युनिस्ट पार्टीमा मनपरी चल्दैन। हामीले पार्टीका अध्यक्ष केपी ओलीलाई मार्क्सवाद–लेनिनवादको सिद्धान्तका आधारमा चल्न र सच्चाउन कोशिस गर्यौं। लेनिनवादी संगठनात्मक प्रणालीमा हिँड्न आग्रह गर्यौं। तर, सच्चिने कुनै गुञ्जायस छैन। ओलीलाई कम्युनिस्ट बनाउन सकिएन।’
‘ओलीले कहिले पनि महत्त्वपूर्ण विषयमा छलफल हुन दिनुभएन। बैठक चलिरहेका बेला बैठकको बीचबाटै उठेर हिँडिदिने गर्नुभयो। त्यसो हुँदा पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न सकेन,’ उनले भने।
भ्रष्ट, आसेपासेको संरक्षण हुने गरेको र आफ्नो गल्ती ढाकछोप गर्न, लुकाउन पार्टीका अरू सदस्यलाई, नेतालाई हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेता नेपालले आक्रोश पोखेका थिए।
प्रतिक्रिया