काठमाडौं- अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज (आइतबार) रुँदै फेरि पनि राजेश हमालका फ्यानसँग माफी मागेकी छन्।
फेसबुकमा लाभइ गर्दै उनले आफूभन्दा सिनियर कलाकारका बारेमा टिप्पणी गरेर आफूले ठूलो गल्ती गरेको भन्दै रोएरै माफी मागेकी हुन्।
सुरुमा फेसबुकमा उनले स्टाटस लेखेकी छन्- नमस्कार! आज भाद्र ७ गते , मेरो जन्मदिन! धेरै दिनदेखि तपाईंहरूबाट अलि टाढा थिएँ। त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु।
आज गते पनि ७, तपाईंहरूसँग पनि सातै मिनेट मागेँ है। यसपछि उनी भिडियाेमा अत्यन्त भावुक रूपमा प्रस्तुत भएकी छन्। अनि बीचबीचमा रोएकी पनि छन्।
‘हुन त त्यो कुराहरू नगर्दा पनि हुन्थ्यो होला अब, तर मलाई के लाग्यो भने, पछिल्ला दिनहरूले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा त्यो समस्या व्यवस्थापन गर्नु ठूलो कुरा हो,’ भिडियोमा उनले भनेकी छन्, २९-३० वर्षको यात्रामा आधी समय त मेरो पीडादायी नै भयो। तर जब २०६० सालमा तीतोसत्य आयो त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेन।’
कलाकारितामा सफल भए पनि व्यक्तित्व विकासका सवालमा आफू अझै कमजोरी रहेको महसुस भएको बताएकी छन्।
‘मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखिपूर्ण तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा मैले अmभै सिक्नु बाँकी रहेछ,’ उनले भनेकी छन्।
खासगरी अभिनेता हमालका विषयमा गरिएको टिप्पणीपछि आएका गालीगलौजबाट उनी धेरै पीडित भएको उनको अभिव्यक्तिले प्रस्ट पारेको छ।
‘मैले त्यो इन्टरभ्युमा तीन गल्ती गरेँ, पहिलो प्रकाशजीले बोलाएको अन्तर्वार्तामा बिनातयारी गएँ, दोस्रो लगातार आरोप लाग्ने खालका प्रश्न आए र मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ र मेरो शारीरिक हाउभाउमा समस्या आयो, र तेस्रो मिडियामा मैले कूटनीतिक चलाखी देखाउन सकिनँ र एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्न पुगें।’
अन्त्यमा अबदेखि गल्ती नदोहोर्याउने र व्यक्तित्व विकासमा पनि समय लगाउने उल्लेख गर्दै दीपाश्रीले हमालका फ्यानसँग भनेकी छन्, ‘मेरो अभिव्यक्तिले तपाईंको मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।’
भिडियाे
https://www.facebook.com/deepashree.niraula/videos/3412083022189470/
प्रतिक्रिया