+
Search

ताजा अपडेट +

पपुलर +

वामदेव र नारायणकाजीको ‘लैवरी’ शैली

4KNationalDaily
२०७७ भाद्र ९, मंगलवार १०:२५ बजे

काठमाडाैं- पार्टी विभाजनको खतरा टार्ने, दुई अध्यक्षबीचको टकरावलाई युद्धविराममा बदल्ने, पार्टी एकता जोगाउदै बाँकी एकताको प्रक्रिया पूरा गर्ने र मुलतः नीति र विधिच्युत हुँदै गएको नेकपालाई पार्टी पद्धतिमा फर्काउँदै देशलाई शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गराउने विन्दुमा पुनः पु-याउने गरी सत्तारुढ नेकपाको जारी अन्तरसङ्घर्षमा अल्पविराम लागेको छ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डको सहमति तथा मध्यमार्गी नेताहरुको पहल र सदिच्छा अनुरुप बनेको छ सदस्यीय कार्यदलको रोडम्यापको आधारमा नेकपा अब तत्काल विभाजन हुने र सरकार स्वेच्छाचारी मार्गको एकल धावक बन्ने खतरा टरेको छ ।

शान्ति प्रक्रियाको पूर्णतादेखि पार्टी एकतासम्मको रक्षा गर्दै सरकारले विराउँदै गएको बाटोलाई सही ट्रयाकमा ल्याउनुपर्छ भन्ने नेता रामबहादुर थापा वादल लगायत मध्यमार्गी नेताहरु तथा देशभरका कार्यकर्ताको एकताको धारको विचार र नेतृत्वको अनुमोदन हुने गरी कार्यदलले दिएको सुझावका कारण नेकपा सम्भावित दुर्घटनाबाट जोगिएको मात्रै छैन, नेकपा अब सही धारामा फर्कने निश्चित प्रायः भएको छ । र, नेकपामा अब व्यक्तिवादी, अतिवादी होइन, तटस्थतावादी मध्यमार्गी विचार र प्रवृत्ति नै निर्णायक रुपमा हावी हुनेछ भन्ने उदाहरण पनि देखिएको छ ।

प्राकृतिक प्रकोपका अलवा देशमा कोभिड १९ को कहरले जनता थलिदै र मारिदै गइरहेका बेलामा पार्टी र सरकारलाई जनतामुखी बनाउन र जनताको नेकपाप्रतिको विश्वास र भरोसा पुनस्र्थापित गर्न कार्यदल मार्फत व्यक्त रोडम्याप एक युगीन कोशेढुङ्गा हुने अपेक्षा सर्वत्र गरिएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको स्वेच्छाचारी काम कारवाही तथा शीर्ष नेताहरुको गुटमुखी प्रवृत्तिलाई कमजोर पारेर पार्टीलाई विधि र पद्धतिमा फर्काउदै सरकार पनि जोगाउने, पार्टी एकता पनि टिकाउने र पार्टीलाई अन्ततः महाधिवेशनको लोकतान्त्रिक मैदानमा पु¥याएर नयाँ विचार र नेतृत्वमा रुपान्तरण गर्नुपर्छ भन्ने मध्यमार्गी धारको अडान र विचारले नेकपाभित्र विजय प्राप्त गरेको छ ।

देशभरका आम कार्यकर्र्ता र जनताको भावनाको प्रतिनिधित्व गर्दै परस्परमा जुधिरहेका दुबै पक्षका अतिवादी अडान र प्रवृत्तिहरुमा क्रमभंगता ल्याउन अविरल प्रयत्न गर्दै आएको मध्यमार्गी धार हावी हुन सकेकै कारण बिना कुनै ठूलो क्षति सत्तारुढ नेकपा अब सही ट्रयाकमा फर्कन सकेको छ ।

नेकपाभित्र मध्यमार्गी धारको विजयले एकताकालीन नेकपाको पुनरोदय र देशवासीमा आशा र भरोसाको नयाँ सूर्योदय गराएको छ । कोभिडका कहरबीच देश र जनताले पाएको सत्तारुढ नेकपाभित्रको सही सन्देश वा एकप्रकारको पछिल्लो सुखद उपहार नै यही हो ।

अतिवादी प्रवृत्तिमा ब्रेक

मुलतः पार्टी एकताको मर्म र भावना विपरीत तथा जनादेशको म्यान्डेट विपरीत सरकार संचालन गर्ने दुस्साहस गरेर एक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जुन एकमनावादी अहंकार र दम्भ देखाउदै गएका थिए, त्यो नै पछिल्लो विवादको जड थियो ।

पार्टी कमिटीहरुलाई बाइपास गर्ने, एकल निर्णयहरु गर्ने र म नै सर्वेसर्वा हुँ भन्ने जुन गलत प्रवृत्ति प्रधानमन्त्रीले देखाउदै आएका थिए, त्यसमा अब क्रमभङ्ग हुने निश्चित गरेको छ, कार्यदलको सुझावले । यसबाटै सरकारको कमीकमजोरीको करेक्सनको कोर्श सुरु हुनेछ । अन्ततः यही नेकपाको एकताको जग जोगाउने आधार बन्ने भएको छ ।

यस्तै अर्का अध्यक्ष प्रचण्डले आफ्ना अधिकारहरु छोड्दै जाने र एक हदसम्मको त्याग पनि गर्ने तर ती सबै कुराहरुलाई फेरि गुटको छातामुनि लगेर अर्को समानान्तर गतिविधिमा जानी नजानी भएका भुलहरुले पनि सरकार भर्सेज पार्टी, ओली भर्सेज प्रचण्ड गुटको जुन डरलाग्दो रेखाँकन गर्दै लगेको थियो, त्यो पनि अब अन्त्य हुने सुनिश्चित भएको छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरुको समूह आफैमा अघोषित गुट बन्दै गर्दा त्यसले पनि पार्टी विधि र पद्धतिको सर्वस्वीकार्यता र वर्चस्वमाथि धावा बोलेकै थियो । यो पनि नेकपाको बृहत्तर एकता र सरकारको प्रभावकारिताका लागि ठूलै आन्तरिक समस्या र संकटको प्रवृत्तिका रुपमा प्रकट हुँदै थियो । अब यसमा पनि क्रमभङ्ग हुने नै भएको छ ।

यसरी हेर्दा दुई धारका अतिवादी प्रवृत्ति कमजोर तथा नयाँ एकताको आधारका लागि विधि र नीति प्रधान पार्टीका लागि मध्यमार्गी धारको हस्तक्षेप नै नेकपामा हावी भएको छ । सर्प पनि मार्ने लट्ठी पनि जोगाउने गरी आन्तरिक अन्तरविरोधको हल गरेर मुख्य दुश्मन विरुद्धको लडाईमा पार्टीलाई एकतावद्ध र बलियो रुपमा प्रस्तुत गर्ने गरी कार्यदलले प्रतिवेदन ल्याएको छ ।

नेता बादल लगायतका नेताको एकताको पक्षमा निरन्तरको पहलको सफलता नै नेकपाका लागि अग्रगमनको आधार र जग बन्न सकेको छ । सबैका लागि केही नहारिकन, जीत हासिल भएको सुखद पक्ष नै यही हो ।

निश्चय नै पार्टी अध्यक्षका रुपमा प्रचण्डको कार्यकारी भूमिकालाई बढावा दिने र सरकार प्रमुखका रुपमा ओलीको वेलगाम प्रवृत्तिमा अंकुश लगाउदै गर्दा यसले ओलीका अधिकार खुम्च्याएको तथा प्रचण्डको अधिकार बढाएको जस्तो सतहमा देखिन सक्छ ।

तर, यसको समग्र परिणाम पार्टी एकताको रक्षा र सरकारको प्रभावकारिता वृद्धिमा नै मुखरित हुने हुँदा यसबाट पनि ओली र प्रचण्ड खेमालाई मुखरा बनाएर स्वार्थको रोटी सेक्नेहरु नै दण्डित र लज्जित हुन पुगेका छन् । यसमा स्वार्थी समूहको पराजय र समग्र पार्टी र सरकारकै विजय भएको छ ।

लैवरी वामदेव र नारायणकाजी

जननेता मदन भण्डारीको हत्यापछि तत्कालीन नेकपा एमालेको १४ वर्षे नेतृत्व कमाण्ड सम्हालेका नेता माधव नेपालको माग र अडान तथा विचारलाई अपवाद मान्ने हो भने अहिले जता मल्खो उतै ढल्को गर्ने र राजकीय पद लिनका लागि अडान, विचार र नैतिकताको वली चढाउने वामदेव गौतम र नारायणकाजी प्रवृत्तिलाई नेकपाले यसपटक पुनः अस्वीकार गरेको छ ।

वामदेव गौतमले प्रधानमन्त्रीको सत्ताको ललीपपमा भुलेर र प्रवक्ता नारायणकाजीले सरकारमा जाने व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्न प्रचण्ड र माधव नेपाललाई उक्साएर जुन गुटका खेल खेले, तिनको समुल पर्दाफास र बिघटन भइसकेको छ अब । अब नेकपा कुनै अमुक नेताको सत्ता स्वार्थका लागि सिद्धान्तको लेप लगाएर कथित नक्कली अन्तरसङ्घर्षको क्रिडास्थल बन्न सक्दैन भन्ने तथ्य अब नेकपाभित्र जोडदार रुपमा नै स्थापित भइसकेको छ ।

जहाँसम्म माधव नेपाल खेमाले उठाएको संस्थागत विधि पद्धतिको कुरा छ, त्यसलाई कार्यदलले पनि आफ्ना सुझावमा समेटेका कारण माधव नेपाल खेमा पनि अहिलेलाई निराश वा हतास भइहाल्नु पर्ने अवस्था छैन । तर, सत्ताका खातिर गुटको खेती गर्ने र त्यसलाई सिद्धान्तको जलप लगाएर नथाक्ने अनि घरी खुमलटार र घरी वालुवाटार गरेर आफैलाई केन्द्रमा राख्ने व्यक्तिवादी स्वार्थी प्रवृत्तिका रुपमा उदाएका र हावी हुन खोजेका नारायणकाजी र वामदेवको लैवरी ताल र सत्तामुखी स्वार्थी प्रवृत्तिमा लागेको अंकुश पनि अहिलेका लागि नेकपालाई दुर्घटनाबाट जोगाउने र अग्रगमनका लैजाने एक सुखद सुरुवात हुन पुगेको छ ।

समयबद्ध साप्ताहिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily