काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो।
गत बुधबार प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ।
एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६ सय रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ज्ञ९६ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो। यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँ पुगेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ। पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो।
नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५ सय र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो।
प्रतिक्रिया