काठमाडौं- पेरि एम्रिक आबुमियाङले निर्धारित समयमा र पेनाल्टीमा निर्णायक गोल गरेपछि लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि उचालेको छ।
वेम्बली स्टेडियममा शनिबार राति भएको खेल निर्धारित समयमा १-१ को बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा भने प्रिमियर लिग च्याम्पियन लिभरपुललाई आर्सनलले ५-४ गोल अन्तरले पराजित गर्यो।
पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरे।
लिभरपुलका रिहन ब्रेउस्टरको प्रहार बारमा लाग्दै फर्कियो। उसका मोहम्मद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरेका थिए।
आर्सनलले १६ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ भने लिभरपुलले १५ चोटी जितेको छ।
प्रतिक्रिया