काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो।
विप्लव नेकपाले सरकारले त्यस्ता भैष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनातको माग बमोजिम आफूहरुले कारबाही गर्ने चेतावनी दिएको छ।
‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ’, पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेकपाले किसाल मल नपाएर छटपटाइ रहेको, कोरोना संक्रमितको संख्या झन्झन् बढ्दै गएकोबेला सरकारले मलको ठेक्का भ्रष्टहरुलाई दिएर गल्ती गरेको बताएको छ। नेकपाले यो कार्य घोर आपत्तिजनक, किसानहरूको बालीनालीमाथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य आपराधिक खेलका रूपमा लिएको जनाएको छ।
आफ्नो पार्टीको लोकप्रियता बढेपछि र जनताको माझमा प्रिय भएपछि यसलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आतंक मच्चाउने गुन्डा, लुटेरा, सुराकी, भगौडा र आपराधिक तत्वहरू ज्यान फालेर लागेको आरोप लगाएको छ।
‘क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापारी–व्यवसायी एवम् कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्नेबाहेक चन्दाका नाममा आतंक मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको कुरा आमनेपाली जनतामा हाम्रो पार्टी विनम्र जानकारी गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया