काठमाडाैं- ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन ।
जब कि यो आयोजनामा संघीय सरकारकै सबैजसो अधिकारीदेखि सरोकारवाला निकायको अत्यधिक चासो, अनुगमन, निगरानी र प्राथमिकतासाथ बजेट विनियोजन हुने गरेको खबर कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । ।
तर पनि आयोजनाको प्रगति लक्ष्यअनुसार छैन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहे पनि अन्य ठूला सडक आयोजनाको उदाहरण यस्तै छ । निर्माणले गति लिनुको सट्टा झमेलामा परेका छन् ।
हुलाकी राजमार्ग आयोजना सुरुमा भारत र नेपाल सरकारबाट संयुक्त रूपमा सञ्चालित थियो । भारतबाट निर्माण व्यवसायी र परामर्शदाता आएर काम भयो ।
तर भारतीय निर्माण व्यवसायीले बीचमै काम छाडेपछि यसको स्वरूप परिवर्तन गरियो । नयाँ तरिकाबाट अघि बढ्दा भारतले ५ अर्ब भारतीय रुपैयाँ (नेपाली ८ अर्ब रुपैयाँ) हुलाकी राजमार्गलाई नियमित गर्ने भनिएको थियो ।
भारतीय सहयोगमा निर्माणाधीन १० वटा सडकको १४ वटा ठेक्का गरिएको आयोजनाका प्रमुख रोहित बिसुरालले जानकारी दिए ।
८ वटा ठेक्काको काम सकिएको छ । निर्माण सकिएका सडक हस्तान्तरण गर्न बाँकी छ । हुलाकी राजमार्गअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग पर्छ ।
सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर १ हजार ७ सय ९२ किमि रहेको यो राजमार्ग निर्माण सक्ने मिति ०७९/८० सम्म मात्र छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या लाभान्वित हुनेछन् ।
प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रहेकामा संशोधित लागत ६५ अर्ब २० करोड छ ।
अर्को आशा जगाउने सडक हो, काठमाडौं–तराई मधेस द्रुतमार्ग । यो सडक सञ्चालनमा आए एकडेढ घण्टामै काठमाडौंबाट बारा पुगिनेछ ।
तर निर्माणमा आधा पनि प्रगति नभएकाले अझै केही वर्ष यो मार्ग हुँदै यात्रा गर्न पर्खनुपर्नेछ । यो द्रुतमार्ग निर्माण सक्ने लक्ष्य हो, आर्थिक वर्ष ०८०/८१ । तर अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ ।
प्रतिक्रिया