काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।
बालुवाटारमा बसेको सचिवालय बैठकमा गाैतमलाई राष्ट्रियसभामा मानोनित गरिएको विरुद्ध परेको रिटबारे सरकार कहाँ औपचारिक जानकारी नआएको उनले बताए।
‘वामदेव विरुद् परेका रिटबारे सरकारकहाँ औपचारिक जानकारी आएको छैन भनेर भनिएको छ। जानकारी आएपछि सम्बन्धित निकायले निर्णय लिनेछ। यस्तै, कुलमान घिसिङका नियुक्तिबारे छलफल भएन।’ प्रवक्ता श्रेष्ठले भने।
नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
वामदेवलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीवार राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।
गौतमले बिहीवार नै राष्ट्रियसभा सदस्यको रुपमा शपथसमेत लिइसकेका थिए। सोमवार भने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनको मनोनयन बदरको माग गर्दै निवेदन दिएका थिए।
यस्तै, उर्जा मन्त्रालयले कुलमान नियुक्तिबारे प्रस्ताव मन्त्रिपरिषदमा लगेपनि त्यहीँ अड्किएको बताइएको छ। उनलाई नियुक्त गर्नेबारे सचिवालय बैठकमा छलफल नै नभएको श्रेष्ठले बताएका छन्।
प्रतिक्रिया