काठमाडौं- सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको छ।
सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माणनै अघि नबढाएका वा सो अवधिमा सम्पन्न नगरेका निर्माण कम्पनीलाई उक्त प्रक्रिया थालेको हो।
कतिपय एक वर्षीय त कतिपय बहुवर्षीय ठेक्का समयमा सम्पन्न नभएकाले कालोसूचीमा निकालिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए।
विभाग अन्तर्गत ३४ डिभिजन र विभिन्न आयोजना गरी झण्डै एक सय कार्यालय छन्। यी सबैले अवधि सकिएका व्यवसायीलाई कारवाही अघि बढाइरहेका छन्। उनले भने, ‘तिपयले स्पष्टीकरण सोधेका छन् भने कतिले कालोसूचीमा नै निकालिसकेका छन्।’
गत वर्ष फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का अवधि सकिएका विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटक एक वर्ष अवधि थप्ने निर्णय गरेको थियो। सो निर्णयका आधारमा कम्पनीले काम अघि बढाएर विभागमा जानकारी गराउनुपर्ने भनिएको थियो।
तीमध्ये कतिपय कम्पनीले बीचमा काम पनि अघि नबढाएको र विभागलाई जानकारी पनि नगराएको महानिर्देशक शर्माले जानकारी दिए। उनले भने, ‘लामो समयदेखि रोकिएका ठेक्कामा एक वर्ष अवधि दिँदा पनि काम नगरेको पाइएकाले ती कम्पनीलाई पनि कारबाही प्रक्रिया थालिएको हो।’
विभागअन्तर्गका कार्यालयले अहिले सूचना निकालेका एक वर्षीय ठेक्का नै बढी छन्। केही बहुवर्षीय ठेक्का पनि तोकिएको अवधिमा सम्पन्न नभएकोमा कारबाहीमा जान लागिएको विभागले जनाएको छ।
ठेक्का सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कारही गर्नु विभागको नियमित काममा पर्ने महानिर्देशक शर्माले बताए। उनले भने, ‘यसमा सक्रियता बढी घटी हुनसक्छ तर हामीले यसलाई नियमित गर्दै आएका छौं।’
प्रतिक्रिया