+
Search

ताजा अपडेट +

पपुलर +

आफू पनि नसक्ने अरुलाई पनि गर्न नदिने नेतृत्वका कारण समृद्धि अवरुद्ध भयो- बाबुराम भट्टराई

4KNationalDaily
२०७५ फाल्गुन २, बिहीबार २०:५४ बजे

लमजुङ– नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।’

उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाए ।

उनको प्रश्न थियो, ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’ आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उहाँको तर्क थियो ।

‘क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्,’ उनले भने, ‘आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थाल्दारहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।’

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उहाँको जोड थियो ।

पुर्वप्रधानमन्त्री समेत रहेका भट्टरार्इले भने, ‘जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प छैन ।’ लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने उनको तर्क थियो ।

‘असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो,’ उनले संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भने, ‘संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं । यस्तो अभ्यास संसारमा कतै पनि छैन ।’

उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए ।

‘स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टी भन्नु भयो ? चुप नबस्नुस् । संविधानले दिएको अधिकार लिन यहाँहरुले भूमिका खेल्नैपर्छ,’ उनले भने, ‘जनतालाई कमजोर बनाउन खोज्ने नेताहरु लोकतन्त्रवादी हुन सक्दैनन् ।’

जनता जति बलियो हुन्छन्, अधिकारसम्पन्न हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुने र राजनीति त्यति नै सफा हुने भन्दै उनले भने, ‘एकदुई जना वा केही मुट्ठीभर मानिसहरु बलियो हुने व्यवस्थाको नाम जे दिए पनि त्यो निरंकुश नै हुन्छ,’ ।

भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै उनले भने, ‘अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं । मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन् । तर आफ्नो नेताले गरेको भन्नुभयो र तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ ।’

विकास र समृद्धिका लागि हाम्रोजस्तो देशमा केही रणनीतिक कुराहरुलाई जोड दिनुपर्नेमा उनले जोड दिए ।

‘निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र औद्योगिकीकरण तर्फ उन्मुख हाम्रोजस्तो देशमा प्राथमिकता केलाई दिने भन्ने बुझ्न सकेनौं भन्नुभयो विकासको यात्रामा अलमलिन्छौं,’ उनले भने, ‘मैले अर्थमन्त्री र प्रधानमन्त्री भएको बेला बाटो, पानी, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चार र खानेपानीजस्ता पूर्वाधार निर्माणको काम राज्यले गर्नुपर्नेभन्दै राष्ट्रिय गौरवको योजना सुरु गरेको हुँ ।’

उनले राष्ट्रिय प्राथमिकता बिर्सिएर सरकार भ्यू टावर र मूर्ति बनाउनतिर अल्झिएकोमा दुःख लागेको बताए ।

युवाको पलायन र बसाईंसराई रोक्दा मध्यपहाडी लोकमार्ग सुरु गरिएको स्मरण गर्दै डा. भट्टराईले भने, ‘यसलाई सम्पन्न गरेर आसपास स्थानीय अर्थतन्त्रको विकास गर्न सके पहाडमा बसाईंसराई रोकिने मात्र होइन, युवाहरु विदेशिने क्रम पनि बन्द हुन्छ ।’

सरकार युवालाई स्वरोजगार बनाउनेभन्दा विदेश निर्यात गर्न तल्लीन रहनुलाई उनले बिडम्बनापूर्ण अवस्थाको रुपमा चित्रित गरे।

लोकतन्त्रको स्थापनापछि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

‘बहुदलीय प्रतिष्पर्धामा माथि उठेका मानिसलाई तल झार्ने होइन, अझ माथि गएर प्रतिष्पर्धा गर्ने हो,’ उनले भने, ‘हामीले अरुको खुट्टा तान्ने हो अरुलाई होचो बनाउने भन्दा आफू अग्लो बन्ने राजनीतिक संस्कारको विश्वास र अभ्यास गर्नुपर्छ ।’

नयाँ विचार ल्याउने मान्छे सुरुमा सानै र थोरै हुने स्पष्ट पार्दै उनले भने, ‘हिजोको विचार पूरानो भइसक्यो, संसारभरी नै नयाँ विचारको आवश्यकता महसुस भइरहेको छ । डिजिटल संसारमा ज्ञानको स्रोत हात हातमा छ, भ्रमको पछि लाग्नुभन्दा सबैभन्दा सर्वोत्तम र नयाँ विचार अनुशरण गरौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily