काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहनवैद्य किरण, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द लगायतलाई कम्युनिस्ट आन्दोलनको मूलधारमा आउन आग्रह गरेका छन्।
बिहीबार प्रदेश २ का केही नेतालाई पार्टीमा प्रवेश गराउँदै प्रचण्डले अरुलाई पनि मिल्न आग्रह गरेका हुन्।
‘यहाँ अहिले जति जोडिनुभयो। त्यति मात्रै होइन। उहाँहरुको पछाडि एउटा जनमत छ। त्यो जनमत पनि जोडिन आएको हो’, प्रचण्डले भने, ‘यही मञ्चबाट म किरण, बाबुराम र विप्लवहरुले पनि मूलधारतिरै फर्किने सोच्नु देशको हितमा र कम्युनिस्ट आन्दोलनको हितमा, सर्वहारा श्रमिक जनताको हितमा हुन्छ। विवादहरुको विषयमा हामी सँगै बसौं, छलफल गरौं र एउटा विधि र प्रक्रियाको बारेमा निर्णय गरौं।’
उनले कम्युनिस्ट पार्टीहरु मिलेकाले दुई तिहाइको परिस्थिति निर्माण भएको बताए। ‘यो सानो दुःख, मेहनत र त्याग तपस्याले प्राप्त भएको कुरा होइन। सजिलै दुई तिहाइ हाइहाल्थ्यो, हामी एक्लैले ल्याइहाल्थ्यौं भनेर कसैले सोच्यो भने त्यो मनोगत मात्रै हुन्छ।
वस्तुगत हुँदैन’, उनले भने, ‘एकतामा त्यति ठूलो तागत हुँदो रहेछ। संसारभरका कम्युनिस्टहरु रक्षात्मक भएर कमजोर भएको बेलामा नेपालमा यति ठूलो जनमत प्राप्त गर्ने कुरा त्यतिकै भएको हो। यसलाई बचाउने र सुदृढ गर्ने कुरा अब हामी सबैको काँधमा जिम्मेवारी आएको छ।’
प्रतिक्रिया