+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ आश्विन २७, मंगलवार १७:२३ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्माओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् ।

विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, ‘रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।’

वातावरण संरक्षण र प्रकृतिप्रति सजग एवं जिम्मेवार हुने शिक्षा विद्यालय तहदेखि नै समावेश गरिने बताउँदै प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने बताए ।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताए ।

प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे । उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ छ ।

सम्पूर्ण शक्ति विवेकसहित जुटौँ: गृहमन्त्री

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिए ।

‘आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक छ’, उनले भने, ‘एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily