काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका छन् ।
६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोपमा कुनै सत्यता नभएको बताए । उनले गलत कुराको प्रचार गरिएको बताए ।
प्रधानमन्त्री ओलीले भने,’ कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री जस्तो मान्छेले यति अर्ब बाँडेर खाएर भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’
पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि मात्र बूढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मिलेर ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।
‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु’, पूर्वप्रधानमन्त्री बाबुरामप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘एउटा निर्णय नभएको, कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् ।’
उनले देश र जनतलाई गलत सूचना दिएर, भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्नेसमेत बताए ।
‘अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने हर्कत हामी गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’
प्रहरी र नागरिक बीचको विश्वास कमजोर हुनुहुँदैन
प्रधानमन्त्री ओलीले प्रहरीले नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिएका छन् ।
‘हाम्रा व्यवहार र अभिव्यक्तिले नागरिकको विश्वास जित्नुपर्छ’, ओलीले भने, ‘प्रहरीमाथिको विश्वास नागरिकमा कमजोर भयो भने सुरक्षास्थिति कमजोर हुने खतरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले प्रहरीलाई गलत बाटो नभएर सत्य र निष्ठाकासाथ जिम्मेवारीमा अगाडि बढ्न निर्देशन दिए । सरकारले अगाडि सारेको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति कार्यान्वयनमा प्रहरीको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । यो नीतिलाई प्रहरी संगठनले अक्षरस पालना गर्ने विश्वाससमेत प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।
‘सरकारले लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अगिंकार गरौँ । यसको कार्यान्वयनमा प्रहरीको मुख्य भूमिका हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको शून्य सहनशीलताको यो अभियानलाई नेपाल प्रहरी मुख्यालयदेखि मातहतका चौकीसम्म पालना हुनेछ भन्नेकुरामा म विश्वस्त छु ।’
प्रतिक्रिया