काठमाडौं- सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एपी वन टीभीलाई शनिबार राति अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बताएका मुख्य बुँदाहरू :
–मैले नै यो पार्टीलाई करिब दुई तिहाई बहुमतमा पुर्याएको छु, म नै अहिले पनि पहिलो अध्यक्ष छु, म यो पार्टी फुटाउन किन लाग्छु?
–३२–३३ वर्ष अध्यक्ष भैसकेका साथीको फेरि अध्यक्ष हुने, प्रधानमन्त्री भैसकेका साथीहरूलाई फेरि पनि प्रधानमन्त्री हुने रहर किन जाग्छ? अब ६० आसपासको नयाँ पुस्तालाई सहमति गरेर जिम्मेवारी दिउँ। महाधिवेशनबाट हामी ७० को पुस्ता बिदा लिउँ।
– सरकार सञ्चालन एक ठाउँबाट हुनुपर्छ, अहिले बहुशक्तिकेन्द्र भयो। म आफ्ना मान्छे भन्ने व्यक्ति होइन, क्षमताका आधारमा जिम्मेवारी दिने हो मैले।
– पार्टीले नीतिगत निर्देशन दिन्छ। सरकार प्रधानमन्त्रीले चलाउँछ। सरकार पार्टीको मात्रै होइन सिंगै देशको हुन्छ। सरकार संसदप्रति उत्तरादायी हुन्छ। पार्टी प्रमुख भनेर हरेकले आफैंलाई सरकार ठान्नु उचित हुँदैन। सरकारले पार्टीको स्वार्थ होइन, देशको स्वार्थका निम्ति काम गर्छ।
– कर्णालीको राजनीतिक घटना मलाई थाहा थिएन, मैले कर्णाली गएर सबैलाई जोडेर हस्ताक्षर गराएको होइन। मलाई थाहा दियो भने आफ्नो कदम असफल हुन्छ भनेर थाहा नदिएको रे। मुद्दागत रुपमा त्यहाँ उनीहरू मिलेका हुन्।
– न मैले (पूर्वमाओवादीलाई) बाटो लाग भनेको छु्। न कुनै बहुमत अल्पमत सिर्जना गरेको छु। गुटको भेला गर्ने र झगडा गराउने कुरा उचित हुन सक्दैन्।
– नेपाललाई एउटा मात्र देश निर्भर (भूपरिवेष्ठित) बाट भूजडित बनाउने काम भएको छ। तुइनहरू विस्थापित भएका छन्। पुनर्निर्माणको कामलाई कोभिड–१९ ले छेक्न सकेको छैन। ९२ प्रतिशत जनताकोमा बिजुली पुगेको छ। सडकमा बालबालिका देखिन्थे अहिले व्यवस्थित भएको छ।
– डराएको भए म राजीनामा गर्दिनँ भन्ने थिइनँ होला। स्थिरता र स्थायित्वका लागि म काम गर्दैछु, त्यो म डराएको हो?
– कोभिड–१९ का बिरामीलाई कुनै देशमा सरकारले उपचार गर्छ? इन्सुरेन्सबाट कभर हुने गरी मात्र उपचार गरेको छ। हामीले निशुल्क उपचार गरेका छौं। हुने खानेले म तिर्छु भन्न त पाउँछ नि।
– म यो पार्टी फुट्न दिन्नँ। पार्टीलाई जोगाउन, क्रियाशील गराउन सक्रिय रहने छु।
प्रतिक्रिया