+
Search

ताजा अपडेट +

पपुलर +

ओली बैठकमा नआए कार्यकारी अधिकार प्रयोग गर्छु : प्रचण्ड

4KNationalDaily
२०७७ कार्तिक २४, सोमबार १७:१७ बजे

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश बोकेर बालुवाटार फर्किएका छन्।

सचिवालय बहुमत सदस्यले दिएको पत्रमा तोक लगाउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव पौडेललाई दूतको रूपमा बिहान खुमलटार पठाएका थिए।

प्रचण्डले सोही क्रममा आफूले पार्टी एकता कायम गर्नका लागि धेरै अपमान सहेको बताए।

महासचिव पौडेलमार्फत प्रचण्डले तत्काल बैठक राखेर पार्टी एकताको भावना अनुसार अगाडि बढ्न प्रधानमन्त्री ओलीलाई सन्देश पठाएको नेकपाका एक नेताले जानकारी दिए।

प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘मैले पार्टी एकताका लागि लामो समयदेखि धेरै अपमान सहेको छु, अब सीमा नाघ्यो। तत्काल गुटगत र फुटगत कुरा छाडेर बैठकमार्फत निकास खोज्नुपर्छ।’

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए।

उनीहरुले दुई दिनभित्र सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएका थिए। प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको बताएका थिए। उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताएका थिए।

पार्टीमा अल्पमत रहेका ओलीले पछिल्लो समय लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन्। यही विवादका बीच ओलीले नेपालसँग तीन पटक भेट गरिसकेका छन्।

नेपाललाई फकाउन दोस्रो तहका नेताहरुसमेत परिचान गरेका ओलीले आफ्ना दूत मार्फत प्रदीप नेपाललाई नेपाल फकाइदिन अनुरोधसमेत पठाएका थिए।

आइतबार दिउसो पनि ओलीले वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेसहित बालुवाटार बोलाएका थिए। उक्त भेटमा ओलीले पार्टी संकटमा रहेकोले जोगाउन नेता नेपालसँग आग्रह गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily