काठमाडौं- नेयमारको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको छ । यो सिजन युनाइटेडले घरेलु मैदानमा हारेको यो चौथो खेल हो ।
खेलको छैटौँ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा मार्कस रासफोर्डले खेल बराबरी गरे । तर, दोस्रो हाफमा मिडफिल्डर फ्रेड दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडन् बाध्य बनेपछि युनाइटेड १० खेलाडीमा सिमित बन्यो ।
यसको फाइदा उठाउँदै मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । इन्जुरी समयमा नेयमारले च्याम्पियन्स लिगमा ३८ औँ गोल पुरा गरेपछि पीएसजी ३–१ ले विजयी बन्यो ।
समूहको अर्को खेलमा आरबी लेइपजीगले इस्तानबुल बासाकसेहिरमाथि ४–३ को रोमाञ्चक जीत हासिल गर्यो ।
समूह एचमा पीएसजी, युनाइटेड र लेइपजीगको समान ९ अंक रहेको छ । अब अर्को चरणमा छनौटका लागि युनाइटेडले जर्मन टोलीसँग अन्तिम खेलमा बराबरी गरे पुग्छ ।
प्रतिक्रिया