काठमाडौं– टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २–० गोलले पराजित गरेको हो।
घरेलु टिम टोटेनहमको जितमा सन हेयुङ मिन र ह्यारी केनले गोल गरे। खेलको १३ औं मिनेटमा नै सनले उत्कृष्ट गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समयमा केनले गोल गरेपछि पहिलो हाफमै टोटेनहमले आर्सनलविरुद्ध २–० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफको जस्तो तुलनात्मक रुपमा टोटेनहमको खेल दोस्रो हाफमा भएन। ७० प्रतिशत बल पोजिसन राखे पनि आर्सनलले भने गोल गर्न सकेन। रक्षात्मक खेल खेलेको टोटेनहमले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्दै २–० गोलको जित निकालेको हो।
प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
खेलको २४ औं मिनेटमा एयोजे परेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। तर खेलको २६ औं मिनेटमा शेफिल्डले गोल फर्काएको थियो। ९० औं मिनेटमा भार्डीले गोल गरेपछि लेस्टरले २–१ गोलको जित निकालेको हो।
जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको टोटेनहमको ११ खेलबाट २४ अंक छ। समान खेलबाट २४ अंक नै बनाएको लिभरपुल दोस्रो स्थानमा छ।
पराजित आर्सनलको भने ११ खेलबाट १३ अंक छ। शेफिल्डलाई पराजित गर्दै लेस्टर सिटी पनि लिगको चौथो स्थानमा उक्लिएको छ। लेस्टरको ११ खेलबाट २१ अंक छ। यसअघि शीर्ष स्थानमा उक्लिएको चेल्सी भने लिगको तेस्रो स्थानमा झरेको छ।
प्रतिक्रिया