काठमाडौं– इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनामाथि शानदार जित निकालेको छ। घरेलु टिम बार्सिलोनाविरुद्ध युभेन्टसले ३–० गोलको जित निकालेको हो।
स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै युभेन्टस समूह ‘जी’ को विजेता समेत बनेको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। त्यस्तै, वेस्टन म्याकेनले एक गोल थपे।
खेलको १२ औं मिनेटमा नै बार्सिलोनाका रोनाल्ड एराउजोले डिबक्सभित्र रोनाल्डोलाई फोउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो। रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए।
खेलको २० औं मिनेटमा बेस्टनले गोल गरेपछि बार्सिलोनाविरुद्ध युभेन्टसले २–० गोलको अग्रता बनायो। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दा बार्सिलोनाले भने एक गोल पनि फर्काउन सकेन।
बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि युभेन्टसले दोस्रो पटक पेनाल्टी पाएको थियो। ५२ औं मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए।
रोनाल्डो रहेको युभेन्टस र लियोनल मेस्सी रहेको बार्सिालोनाबीचको खेल निकै चासोको रुपमा लिइएको थियो। तर यी दुई खेलाडी आमनेसामने भएको खेल युभेन्टसले बार्सिलोनालाई उसैको भूमिमा पराजित गर्न पुग्यो। यसअघि भएको पहिलो खेलमा भने बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले पराजित गरेको थियो।
जितसँगै युभेन्टस शीर्ष स्थानमा रहँदै समूह ‘जी’ को विजेता बनेको हो। युभेन्टसले ६ खेलबाट १५ अंक बनाएको छ।
हारसँगै दोस्रो स्थानमा झरेको बार्सिलोनाको पनि ६ खेलबाट समान १५ अंक नै छ। युभेन्टस र बार्सिलोना दुबै टिम समूह चरणको समान २–२ खेल बाँकी रहँदा नै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेका थिए।
प्रतिक्रिया