काठमाडौं- सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन्।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरसंघर्ष चर्किएपछि दाहाल र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजान थालेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।
उनीहरूले जिल्ला संगठन समितिका सचिवसम्मलाई भेला गराई प्रशिक्षण अभियान चलाउने निष्कर्ष निकालेका छन्। त्यही क्रममा बिहीबार काठमाडौंमा उनीहरूले वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला गरेका छन्।
पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्पर्क कार्यालयमा भएको भेलामा करिब ५० जना जिल्ला नेता सहभागी थिए। दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने, अहिलेको अन्तरसंघर्ष वैचारिक राजनीतिक भएको भन्दै यसलाई तल्लो तहसम्मै छलफलमा लैजाने बताएका थिए।
उनीहरूले अब आफूहरूबीच कसैले पनि फाटो ल्याउन नसक्ने बताएका थिए। ओलीले बुधबार दाहालसँगको भेटमा नेपालसँगको समीकरण तोडेर आफूसँग मिल्न प्रस्ताव गरेका थिए। ‘उहाँको काम नै तोड्ने भत्काउने र आफू रजाइँ गर्ने मात्र हो’, दाहाल र नेपालको एउटै स्वर थियो, ‘अब उहाँको यस्तो भ्रमजालमा हामी दुवै नेता छैनौं।’
उनीहरूले एक्लाएक्लै ब्रिफिङ गर्दा दुई नेताको सम्बन्ध भोलिका दिन के होला भन्ने आशंका उठ्न सक्ने भएकोले सँगै जिल्ला नेताहरूलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गर्न खोजिएको बताएका थिए। ‘हामी दुई नेता (प्रचण्ड, माधव नेपाल)को समीकरण दीर्घकालीन रूपमा स्ट्रोङ (बलियो) भएर अगाडि बढ्छ, यसलाई कसैले फुटाउन सक्दैन। हामीलाई फुटाउने प्रधानमन्त्रीले कोसिस गरेकै हुन्। तर अब त्यो सम्भव छैन। हामीबीच समीकरण मात्र बनेको होइन, विचार समूहकै रूपमा स्थापित भइसकेका छौं’, दाहाल र नेपालको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य कुमार पौडेलले भने।
उनीहरूले सचिवालयमा दाहालका नाममा पेस भएको प्रस्ताव बहुमत सचिवालय सदस्यको सामूहिक दस्तावेज भएको पनि बताएका थिए। ‘अहिले आएको दस्तावेज सामूहिक हो। यसलाई सामूहिक रूपमा डाफ्ट गरेरै बनाएको हो। त्यो सम्पत्ति हो। त्यो संस्थागत हो। अब यो प्रचण्ड, माधव नेपालले चाहेर फिर्ता हुने स्थिति छैन। सामूहिक दस्तावेजलाई सामूहिक रूपमा लैजानुपर्छ। प्रस्तावमा विशेषगरी कमरेड केपी ओलीको प्रवृत्तिको किटान गरिएको हो’, नेपालले भनेका थिए।
प्रतिक्रिया