+
Search

ताजा अपडेट +

पपुलर +

ओलीका कारण जनताले ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाए : देउवा

4KNationalDaily
२०७७ मंसिर २९, सोमबार १८:११ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको सरकारबाट आजित भएर ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको बताएका छन्।

कोरोना महामारीका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएका कारण जनता निराश भएको देउवाको भनाइ छ। उनले कम्युनिष्ट सरकारकै कारण मान्छेले ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको बताए।

राजतन्त्र पनि राजा नै प्रजातन्त्रविरोधी भएका कारण फाल्नु परेको र अब चाहिँ गणतन्त्रबाट पछाडि कुनै हालतमा नफर्किने उनले बताए।

‘गणतन्त्र हामीले होइन राजाले ल्याएको हो, हामीले त भागेर गएको राजालाई पनि फिर्ता ल्याएको हो, प्रजातन्त्रको विरोधमा गएका कारण फाल्नुपरेको हो, तर अबचाहिँ फर्किने कुरा छैन,’ उनले भने।

तर ओलीका कारण जनताले राजालाई गुहार्न थालेको उनले बताए। उनले नेपाली कांग्रेसले सोमबार देशभर गरेको प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दैै सो धारणा व्यक्त गरेका हुन्।

‘तर यी तत्वलाई राजा आऊ भन्ने हिम्मत आउँदैनथ्यो, ओली सरकारबाट आजित भएर त्यसो भनेका हुन सक्छन्,’ देउवाले भने, ‘अब कसैलाई शंका नहोस् अब गणतन्त्रलाई नै बलियो राम्रो बनाउने हो, यसलाई जनता र देशको पक्षमा बनाउने हो।’

सरकारको गलत गतिविधिका कारण जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको र आफूहरु अब कम्युनिष्टबाट जनतालाई मुक्त गर्न सडकमा आएको उनको भनाइ थियो।

‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउनेहरुलाई पनि केही कुरा भन्नुपरेको भन्दै उनले राजा पनि प्रजातन्त्रविरुद्ध गएकै कारण उनलाई फाल्नुपरेको देउवाले बताए। तर राजाले आफूलाई जेल हाल्दा बरु अदालतले आफूलाई छुटाएको तर अहिलेचाहिँ अदालत पनि कम्युनिष्टहरुले पार्टीकरण गरेको उनको आरोप थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily