काठमाडौं- ‘प्रचण्डले मलाई एकदमै अन्डरइस्टिमेट (अवमूल्यन) गर्नुभयो, हेप्नुभयो। अब मन्त्रीबाट राजीनामा दिएँ भनेर म उहाँकहाँ भन्न जान्नँ।’
परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रस्ट पार्नुपर्ने दबाबसहित अस्ति सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल) को सरकारी निवास पुल्चोकमा आफूपक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त कुरा बताएका हुन्। त्यसलगत्तै उनलाई भेट्न प्रचण्ड पुल्चोक पुगे।
बादलको कुरा उद्धृत गर्दै एक नेताले सुनाए, ‘तपाईंहरूको सुझाव प्रतिगमन (ओली) तिर हैन, यथास्थिति (प्रचण्ड) तिरै जाने कुरामा मेरो समर्थन छ। तर, यसनिम्ति प्रचण्डसँग कुरा गर्नुपर्छ।’
नेकपाको केन्द्रीय कमिटीमा बादल समूहका ३३ जना छन्। त्यसमध्ये स्थायी कमिटीमा स्वयं बादल, पम्फा भुसाल र देव गुरुङ छन्। यसबाहेक केपी ओलीसँगको तालमेलमा विभिन्न प्रदेशमा बादलका मान्छेहरूले भूमिका पाएकाे खबर आजको जनआस्था साप्ताहिकले छापेको हो।
जस्तो कि, कर्णालीमा आन्तरिक मामिला (गृह) मन्त्री छन्, नरेश भण्डारी। गण्डकीमा पनि आन्तरिक मन्त्री हरिबहादुर चुमान छन्। प्रदेश १ मा एक मात्र पूर्वमाओवादी मन्त्री छन्, मौसम। त्यहीँ उपसभामुख छन्, सरस्वती पोखरेल। लुम्बिनी प्रदेशका आन्तरिक मन्त्री कूलप्रसाद केसी (सोनाम) र सभामुख पूर्ण घर्ती पनि बादल पक्षधर हुन्।
यता, राजधानी उपत्यकाभित्र नेकपाको नेतृत्वमा माधव नेपाल समूहभन्दा पूर्वमाओवादी समूह बलियो देखिएको छ। काठमाडौंमा इन्चार्ज छन्, सावित्रा भुसाल। वामदेव पक्षधर र अहिले माधव पक्षमा खुलेकी। अध्यक्ष कृष्ण राई केपी पक्षधर।
काठमाडौंका सचिव हिमाल प्रचण्डपक्षीय। ललितपुरका इन्चार्ज हरि दाहाल पूर्वमाओवादी समूहका। त्यहाँका सचिव राजकाजी महर्जन पनि पूर्वमाओवादी। उपत्यका इन्चार्ज लीलामणि पोखरेल पूर्वमाओवादी समूहका, सहइन्चार्ज अरुण नेपाल माधवपक्षीय।
प्रतिक्रिया