काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तार गर्नु अबको पहिलो काम भएको बताएका छन्।
बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताए। उनले प्रधानमन्त्री ओली काम चलाउ नभई फुलफेज प्रधानमन्त्री भएको दाबीसमेत गरे।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए। ती मन्त्रीका ठाउँमा मन्त्री नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो।
प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको दाबी गर्दै भने‚ ‘प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन। राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन। त्यसैले उहाँ अहिले फुलफ्लेज्ड प्रधानमन्त्री हो।’
नेकपा प्रचण्ड-नेपाल समूहले ओलीलाई संसदीय दलबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलक बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क पनि गरे।
प्रतिक्रिया