+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओली श्री ३ जंगेको बाटोमा हिँड्नुभयो : प्रचण्ड

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:१९ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको बताएका छन्।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन्।

सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डको दाबी छ।

‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेँटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखेँ मैले। मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन। हामी जनताको बीचमा पुग्यौं। केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनु भयो। त्यहिंबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो,’ उनले भने।

पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्‍याएको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो। यो कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उनले उल्लेख गरे।

संविधानले दिँगै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत उनको भनाइ छ।

‘हाम्रो पार्टी भित्र विवाद चलेको पक्कैपनि हो। अन्तरसंघर्ष चलेको हो। त्यहाँ सही र गलतकोबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि पद्धती भन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो तर त्यो पार्टी भित्रको संघर्ष थियो। पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो। तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा। उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टिका लगाउनुभयो। हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily