पाेखरा– आजदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आजबाट सुरू हुन लागेकाे हो ।
विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे पोखरा सभागृहमा बसेकाे छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने बताइएको छ ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही
व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् । तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड–माधव नेपाल पक्षका १२ जना छन् । त्यस्तै नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई साथ दिएकाले सरकार सुरक्षित छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुन् ।
प्रचण्ड-नेपाल पक्षका मन्त्रीले राजिनामा दिदैं
प्रदेशका २ जना मन्त्रीलाई राजीनामा दिन दबाब परेको छ ।कानुनी रुपमा नेपाल कम्युनिस्ट पार्टी एउटै रहे पनि व्यवहारिक रुपमा अलग भइसकेकाले अब ओली समूहको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा बसिरहनु उचित नहुने प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् ।
गण्डकी प्रदेशमा ओली समूहका नेता गुरुङ मुख्यमन्त्री छन् र यो मन्त्रिपरिषदमा प्रचण्ड–माधव समूहका नेताहरु हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री छन् । चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री र थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् ।
सोमबार प्रचण्ड–माधव समूहको गण्डकी प्रदेश संसदीय दलको बैठकमा पनि मन्त्रीहरुको राजीनामाबारे छलफल भएको थियो । छलफलमा नेताहरुले सरकारमा बसिरहनु उचित नहुने बताएका थिए ।
प्रतिक्रिया