+
Search

ताजा अपडेट +

पपुलर +

अदालत र निर्वाचन आयोगमा सत्ताधारीको सेटिङ : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७७ माघ १, बिहीबार १८:२४ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालत र निर्वाचन आयोगमा प्रधानमन्त्री केपी ओली पक्षको सेटिङको आशंका व्यक्त गरेका छन्।

नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेता श्रेष्ठले भने, ‘अदालते संविधानलाई व्याख्या गर्ने काम गर्दछ। प्रतिनिधि सभा विघटनको व्याख्या गर्न कुनै जटिलता छैन।’

संविधानमा प्रधानमन्त्रीलाई संविधान विघटनको अधिकार नभएको उनले पुनः दोहोर्‍याए। द्विविधारहित भएर बस्नुपर्ने स्थिति रहेपनि संघर्ष गर्नुपरेको उनले बताए।

‘संविधान कायम राख्ने कि मार्ने विवाद छ नेपाली राजनीतिमा अहिले। संघर्ष गर्नुपर्नुको कारण प्रधानमन्त्रीको यो कदमले समग्र प्रतिगमनको आधार तयार गर्छ,’ नेता श्रेष्ठले भने, ‘संविधानलाई यो प्रतिगमनले खाइदिन्छ कि भन्ने डर छ।’

प्रतिगमनलाई रोक्न जनताले सकेको अवस्थामा संविधान कायम रहने श्रेष्ठको तर्क छ। संविधान कायम रहँदा संसद पुनर्स्थापना हुने उनले बताए।

सत्ताधारीहरूले अदालत र निर्वाचन आयोगलाई सेटिङ मिलाएको आशंका पनि गरिदैँछ,’ श्रेष्ठले भने, ‘संविधानतः प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्छ। दलको मान्यता पनि हामीले नै पाउनुपर्छ।’

दुवैतिर सेटिङ गरी प्रभाव पार्न खोजिएको श्रेष्ठको आशंका छ। स्वतन्त्र ढंगले काम गर्न पाउने अधिकार संवैधानिक अंगलाई भएकाले नडराई निर्णय गर्ने हिम्मत जुटाउन उनले आग्रह गरे। स्वतन्त्र निर्णय गर्ने वातावरणका लागि पार्टीले सहयोग गर्ने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily