काठमाडौं– गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् ।
प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए ।
निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् ।
आफ्नो सेवा सुविधामा पाएको रकममा व्यक्तिगत रकम थप गरेर सहयोग गर्दै आएको दवाडीले बताए । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु, कतै बाटो नहुँदा डोजर लिएर पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु’ उनले भने ।
गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सांसद दवाडी हाल गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।
प्रतिक्रिया