काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यबाहेक अरुबाट चुनाव नलडेको बताएका छन् ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको, आफू सूर्य चुनाव चिह्नबाट लडेर प्रधानमन्त्री बनेकाले प्रचण्ड समूहलाई आधिकारिकता दिन नमिल्ने बताएका हुन् ।
चुनावी तयारीबारे बुझ्न गएको भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको खुलेको छ ।
‘उहाँले लामो पृष्ठभूमि बाँध्दै पार्टी एकतापूर्वको सहमति निर्वाचन आयोगलाई स्मरण गराउनुभयो,’ ती नेताले भने, ‘पार्टी एकतापूर्व म एमाले, सूर्य चुनाव चिह्नधारी पार्टीको निर्वाचित अध्यक्ष थिएँ । उहाँ माओवादी केन्द्रको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । उहाँको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा थियो । चुनावी एकता हुँदा सूर्य चुनाव चिह्नबाट लड्ने समझदारी भएको थियो । लिखित । तर, उहाँ पछि हट्नुभयो । त्यसकारण दश लाख भोट बदर भयो । उहाँ कहिल्यै सूर्य चिह्नबाट चुनाव लड्नुभएको छैन । अहिले चुनाव चिह्न दाबी गर्नुको कुनै अर्थ छैन । नैतिक, कानुनी हिसाबले पनि मिल्ने कुरा होइन त्यो ।’
प्रधानमन्त्री ओली आफ्नो समूहका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री लिला श्रेष्ठ, बाबुराम दाहाल, रमेश बडालसहितको दलबल लिएर मंगलबार निर्वाचन आयोग गएका थिए ।
चुनावको तयारी बुझन् गएको बताइए पनि ओलीले पार्टीको चुनाव चिह्न, नाम आफैँले पाउनुपर्ने दाबी गरेको एक नेताले बताए ।
प्रधानमन्त्रीले आयोगलाई विवेकसम्मत निर्णय गर्न भनेका थिए । आफूले निर्वाचन आयोगको काममा कुनै हस्तक्षेप नगर्ने पनि बताएका थिए । निर्वाचन आयोगले चुनावको तयारीबारे ब्रिफिङ गरेको नेम्वाङले जानकारी दिए ।
प्रतिक्रिया