काठमाडौं– साविक विजेता युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटनलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। त्यस्तै, वेस्टन म्याक्केनीले एक गोल थपे। खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए।
लोबो सिल्भाको पासमा रोनाल्डोले हेडेर गोल गरे। त्यस्तै, रोनाल्डोले पहिलो हाफको अन्तिम समयमा राम्सीको पासमा गोल गर्दै युभेन्टसलाई २–० को अग्रता दिलाए।
पहिलो हाफमा २–० को अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। खेलको ६६ औं मिनेटमा म्याक्केनीले गोल गर्दै युभेन्टसलाई ३–० को जित दिलाए।
यो जितसँगै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टसको २२ खेलबाट ४५ अंक भएको छ। पराजित क्रोटन भने लिगको पुछारमा छ।
क्रोटनले अहिलेसम्म २३ खेलबाट १२ अंक मात्रै बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलबाट ५३ अंक छ। दोस्रो स्थानको एसी मिलानको भने २३ खेलबाट ४९ अंक छ।
प्रतिक्रिया