काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ ।
‘भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।
सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।
सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।
प्रतिक्रिया