काठमाडौं– पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किंदै छन्।
साथमै रहेका उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल फर्किन लागिएको हो।
पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गराइरहेका थिए। तर यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै त्यसको उपचार हाल यहाँ सम्भव नदेखिएकाले नयाँदिल्ली जान सल्लाह दिएका थिए।
सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए। त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन्।
तर ट्युमरको अपरेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिइएको प्रेस सल्लाहकार पाण्डेले जानकारी दिएका छन्। साथमा पाण्डेसहित डा. भट्टराईकी पत्नी एवं नेतृ हिसिला यमी पनि छन्।
प्रतिक्रिया