पोखरा- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् ।
नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले सांसद पद अहिले आफूलाई गौण कुरा भएको बताएका हुन् ।
‘विचार, राजनीति, योजना कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ? उहाँले भनिसकेपछि त विचार छोडियो भने विचलित भइन्छ’ उनले भने, ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले । सांसद पद बचाउन हामी हिंड्ने पक्षमा छैनौं ।’
सर्वोच्च अदालतकाे फैसलाले एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्युँतिएपछि एमालेतिर लागेका हुन् ।
मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए ।
उनले भने, ‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन ।’
प्रतिक्रिया