काठमाडौं- जसरी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा अब हुने चुनावबाट आफू फेरि बहुमतसहित सरकारमा फर्किने दृढता व्यक्त गर्दै छन्, त्यो कुरालाई उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने पूर्ण सत्य नभएको ठहर गरेको छ।
बालुवाटारनिकट एक पूर्वमन्त्रीले बताएअनुसार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आफ्नासहित विपक्षीहरूबीच गरिएको सर्वेक्षणले पार्टी टुक्रिएर चुनावमा गए पनि मुस्किलले लार्जेस्ट पार्टी या ढुक्कसँग प्रमुख प्रतिपक्षीका रूपमा आउन सकिने ठहर गरेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
कुन क्षेत्रमा कति मतदाता छन्? तीमध्ये आफूतिर कति, माधव पक्षमा कति, कांग्रेस, जसपासहितका अन्य दलसँग कति छन्? पहिलाको मतान्तर कति अब माओवादी र माधव खेमाले काट्ने कति? भन्ने अंकका आधारमा उसले एउटा गोप्य प्रतिवेदन तयार पारेको बताइन्छ । त्यसमा नेपाली कांग्रेस सबभन्दा ठूलो र दोस्रोमा आफूहरू हुने निश्कर्ष उल्लेख छ।
तर, अचम्मचाहिँ के छ भने, आफू हुँदाखाँदाको पहिलोबाट दोस्रो पार्टी हुनका लागि किन प्रधानमन्त्री चुनावतिर जोड गर्दै छन्? उनले पार्टी व्युँतिने गरी भएको सर्वोच्च अदालतको दोस्रो फैसलापछि माधव नेपाल, झलनाथ खनालसहितका नेतालाई मिलाउन सक्नुपथ्र्यो । तर, ठीक उल्टो गरी मिल्ने बाटोमा जान्छौँ भन्दा पनि माधव–झलनाथलाई किनारा पार्ने योजना बुन्न थाले। बरु, महाधिवेशनमा एकपल्ट फेरि आफैँ अध्यक्ष उठ्ने, प्रधानमन्त्री पनि हुने ध्याउन्नमा छन्।
त्यसैले पार्टीभित्र उनले कुनै उत्तराधिकारी तयार गरेका छैनन्। फाउण्डेशनको सर्वे नतिजा जस्तोसुकै भए पनि उनी अन्ततः चुनावमा जानैपर्छ, परिणाम त्यति खराब हुँदैन भन्ने बुझाईमा छन्।
प्रतिक्रिया