काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले अध्यादेश ल्याउन समेत असहयोग गरेको स्मरण गरेका छन्।
त्यतिबेला राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री भट्टराईबीच निकै चिसो सम्बन्ध थियो। जसको एउटा कोणको उनले चर्चा गरेका छन्।
शनिबार रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’को विमोचन तथा ‘राजकाज संवाद’ मा बोल्दै उनले आफू २०६८/६९ मा ९ महिना औपचारिक र ९ महिना अन्तरिम प्रकारको प्रधानमन्त्री बनेको बताए।
‘इतिहासमा मेरो प्रधानमन्त्रीको पाला मात्रै यस्तो हो, जसको पालामा दुई वर्षसम्म बजेट पेश गर्न दिइएन। अहिले ‘ड्रप अफ अ ह्याट’ (तत्कालै) भनेजस्तो गरी राष्ट्रपतिले तुरुन्तै अध्यादेश जारी गरिदिनुहुन्छ। तर, मेरो पालामा यस्तो भयो, बजेट पेश गर्दाखेरी, अध्यादेशमार्फत\ बजेट ल्याउँदाखेरी पनि राष्ट्रपतिले दिनुभएन। त्यसैले गर्दा दुई वर्षसम्म बजेट पेश भएको छैन’, उनले भने।
उनले ‘बाबुरामले अर्थमन्त्रीको रूपमा त राम्रै काम गर्यो तर, प्रधानमन्त्रीको रूपमा त गरेन’ भन्ने गरेको भएपनि आफ्नो पालामा मात्रै इतिहासमा दुई वर्षसम्म बजेट आएन भन्ने पनि सम्झिन आग्रह गरे।
डा भट्टराईले आफू प्रधानमन्त्री हुँदा संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजनकै कुरा नै प्रमुख रूपमा भएको र विकास निर्माण र राज्य सञ्चालनका कुराहरू सहायक भएको बताए।
प्रतिक्रिया