काठमाडौं- डेब्यूकर्ता खेलाडीद्वय कुशल भुर्तेल र आसिफ सेख चम्कँदा नेपालले काठमाडौंको कीर्तिपुरमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सानदार सुरुवात गरेको छ।
कुशल र आसिफले अर्धशतकीय पारी खेलेपछि नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो। नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर भेटाएको थियो। लक्ष्य पछ्याउनक्रममा ओपनिङ ब्याटिङमा आएका दुवै खेलाडीले अर्धशतकीय पारी खेलेपछि नेपालले सहजै लक्ष्य पूरा गरेको थियो।
कुशलले ४६ बलमा ५ चौका र ५ छक्को मद्दतमा ६२ रनको पारी खेले। उनले ३० बलमा ४ छक्का ५ चौका प्रहार गर्दै आफ्नो ५० रन पूरा गरेका थिए। १३औं ओभरको चौथो बलमा जुलिन डि मेको बलमा कुशललाई पितर सेलरले क्याच आउट गरेका थिए। कुशलले आसिफसँग पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे।
यस्तै आसिफ सेखले ५४ रनको अर्धशतकीय पारी खेले। उनले ३८ बलको सामना गर्दै ४ चौका र ४ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। आसिफले १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्लले १५ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए। ज्ञानेन्द्र ७ बलमा १३ रन जोड्दै नटआउट रहे।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो। ओ डाउडले पहिलो बलमै सोमपाल कामीलाई चौका प्रहार गर्दै इनिङ्सको सुरुवात गरेका थिए। पुनरागमन गर्दै सोमपालले बाँकी बलमा कुनै रन दिएनन् । दोस्रो ओभरमा सन्दीप लामिछानेले नेपाललाई सफलता दिलाए।
नेपाली क्रिकेट टोलीका स्टार सदस्य सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा डाउडलाई आरिफ सेखको हातबाट क्याच गराए। ११ बल खेलेका डाउडले २ चौकासहित १० रन बनाए। तेस्रो ओभरमा नेपालले पुनः सफलता हात पार्यो । यसपटक सोमपाल कामीले अर्का ओपनर बेन कुपरलाई एलबिडब्लुको सिकार बनाएका थिए । कुपरले २ बल खेलेपनि कुनै रन जोड्न सकेनन।
प्रतिक्रिया