काठमाडौं– नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।
यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् ।
उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए । नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । दोस्रो स्थानमा कुशल पुगेका छन् ।
प्रतिक्रिया