काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै संविधानको ठाडो उल्लंघन, बलमिच्याई र घोर अलोकतान्त्रिक प्रवृत्तिको निन्दा र भत्सर्ना गरेको बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको बताएका छन्।
उनले भनेका छन्, ‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ।’
उनले संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपऱ्याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य/मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको बताएका छन्।
सभापति देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको बताए। बलमिच्याईले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब पुनः सञ्चालन गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न उनले अपील गरेका छन्।
प्रतिक्रिया