काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा कोरोना महामारी भयावह बन्न थालेकाले यसलाई बेलैमा नियन्त्रण गर्नेतर्फ सबै लाग्न आह्वान गरेका छन्।
शनिबार वक्तव्य जारी गरी प्रवक्ता श्रेष्ठले यसका लागि आफ्नो सचिवालयअन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रिययाशील भएको जानकारी पनि दिएका छन्।
‘कोरोनाको महामारी भयावह भयो। नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट विश्वकै अग्रपंक्तिमा देखिन थाल्यो,’ श्रेष्ठले भनेका छन्, ‘सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति काबुबाहिर जान लाग्यो। सबै मिलेर सम्हालौं।’
कोरोना संक्रमणबाट बचाई आम नागरिकको जीवन रक्षामा लागौं भन्दै प्रवक्ता श्रेष्ठले विपन्न तथा श्रमजीवी वर्गका मानिस रोगले भन्दा भोकले मर्ने स्थिति आएको उल्लेख गरेका छन्।
‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, विपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन, भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन्,’ श्रेष्ठले भनेका छन्, ‘अर्थतन्त्र ध्वस्त हुने खतरा देखिँदैछ। तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाका लागि पनि विषेश योजना आवश्यक छ।’
यही विषयलाई पहिलो र मुख्य कार्यभार बनाउन उनले सरकार र सबै राजनीतिक दललाई आग्रह पनि गरेका छन्। तर यो सरकारबाट यस्तो संवेदनशील विषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी अवस्था रहेको टिप्पणी प्रवक्ता श्रेष्ठले गरेका छन्।
‘यस्तो बेलामा सबैले स्वास्थ्यमापदण्डको पालना गरेर आफूलाई संक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो। तर राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरूले आफूलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजका लागि स्वयंसेवा गर्न तयार हुनुपर्दछ,’ उनले भेनका छन्, ‘त्यसो गर्न तयार नहुनेहरू हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन।’
भेरी अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको व्यवहार अनुशरण गर्न सबैलाई आह्वान गरेका छन्। उनले भनेका छन्, ‘जे जसरी सहयोग गर्न सकिन्छ गरौं।’
प्रतिक्रिया