+
Search

ताजा अपडेट +

पपुलर +

बामदेव गौतमले ओलीलाई चुनौतीका साथ भनेः आफ्नाले नै तपाईंलाई छाड्छन्

4KNationalDaily
२०७८ बैशाख २७, सोमबार १०:३३ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि बामदेव गौतमलाई फोन गरी आफ्नो पक्षमा आउन आग्रह गरे । उनले गौतमलाई माधव नेपालको लहै-लहैमा नलाग्न भने ।

माधव नेपाल समूहमा लागेका केही नेताहरुलाई पनि साथमा ल्याउन ओलीले आग्रह गरे । तर, गौतमले आफू कसैको पक्षमा नभएको तर २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएर अगाडि बढ्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।

ओलीले गौतमसँगको संवादमा नेपाल समूहका केही नेताहरुले आफूलाई साथ दिन लागेको समेत दाबी गरे । जवाफमा गौतमले चुनौतीका साथ भने, ‘तपाईंका आफ्ना भनेकाले नै तपाईंलाई छाड्नेछन् । उनीहरु बोल्न मात्र नसकेका हुन् तपाईंको शैलीबाट सन्तुष्ट छैनन् ।’

गौतमले ओलीमाथि एमाले नै ध्वस्त बनाउने बाटोमा लागेको आरोप समेत लगाए । एमालेलाई एक बनाउन नवौं महाधिवेशनको म्यान्डेट कार्यान्वयनका लागि २ जेठ २०७५ को अवस्थामा ल्याउन दोहोर्याए ।

तर, ओलीले अगाडि बढिसकेकाले पछाडि नफर्कने अडान लिए । त्यसपछि गौतमले २ जेठबाहेकमा कुरै नगर्न भने । उनले माधव नेपालसँग २ जेठकै सवालमा आफ्नो कुरा मिलेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily