काठमाडौं– प्रधानमन्त्री र राष्ट्रपति मिलेर वतर्मान व्यवस्थामाथि नै ‘कू’ गर्न खोजेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। उनले चुनावको घोषणलाई समेत जालझेलको रुपमा अर्थ्याएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १:४९ बजे प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
प्रधानमन्त्री र राष्ट्रपति मिलेर वतर्मान व्यवस्थामाति नै कू गर्न खोजेको उनको भनाइ छ। नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्।
उनले यसलाई प्रतिगमनको रुपमा समेत व्याख्या गरेका छन्। ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ,’ उनले फेसबुकमार्फत धारणा सार्वजनिक गरेका छन्।
शीतल निवासले संविधानको मर्मलाई नै कुठाराघात गरेको नेपालले बताएका छन्। ‘यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु’, उनले लेखेका छन्।
प्रतिक्रिया