पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ ।
वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।
गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।
अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।
गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।
उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्याउने अवस्था आएमा साथ दिने बताएका छन् ।
यस्तो छ अंकगणित
गण्डकी प्रदेश सभाको कूल सदस्य संख्या ६० हो। यसको बहुमत ३१ हुन्छ। प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन्। सर्वाेच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि उनका पक्षमा जम्मा २८ मत पुग्छ। अर्थात् बुहमत पुग्दैन।
उता विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ (कृष्ण थापा सरकारतिर) गरी कूल सांसदको संख्या ३१ हुन्छ। त्यसमा पनि सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्र हुन्छ। तर मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने भएको हो।
यसरी मुख्यमन्त्री गुरुङको पद जाने र प्रदेश सभा पनि विघटन नहुने लगभग निश्चित देखिन्छ। यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा मतदान हुनुभन्दा एक दिनअघि पदबाट राजीनामा दिएका गुरुङ प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतामा पुनः मुख्यमन्त्री बनेका थिए।
त्यसको ३० दिनपछि उनले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर उनले आजै विश्वासको मत लिन लागेका हुन्।
प्रतिक्रिया