काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले भावी सरकार गठनका लागि आफूहरुको समर्थन विपक्षी गठवन्धलाई नै रहेको बताएका छन्।
संसदमा विश्वासको मत पाउन असफल भएपछि स्वत: पदमुक्त भएका पृथ्वी सुब्बा गुरुङले जसपाको समर्थन प्राप्त भएको पत्रसहित पुन: मुख्यमन्त्रीमा दाबी गरेपछि आचार्यले गुरुङलाई आफ्नो समर्थन नभएको बताएका हुन्।
गुरुङले जसपाको सर्मथन भनेर लगेको पत्रका विषयमा पार्टीलाई थाहा नभएको पनि उनले बताए। आफूहरु हिजो (शुक्रबार)देखि नै विपक्षी गठवन्धनसँग सँगै रहेको र गुरुङलाई सर्मथन गर्ने विषयमा कुनै पनि छलफल नभएको उनले बताए। ‘यो गैरकानुनी वा नक्कली पत्र बनाएर लगेको हुनसक्छ’, आचार्यले भने ‘संसदीय दलको नेतालाई थाहा नभएको र जानकारी नभएको पत्रले कसरी वैधानिकता पाउँछ ?’
उनले गण्डकी प्रदेशमा जसपाको सर्मथन नेपाली कांग्रेससहितको गठबन्धनलाई भएकाले अरु कसैले कुनै पत्र मनलाग्दी बनाएर मान्यता नपाउने बताए।
‘यस्तै गैरसंवैधानिक हर्कत हुन्छन् भनेर हामीले हिजै प्रदेश प्रमुखसँग ३१ सांसद उपस्थित भएर सनाखत गर्न खोजेको, तर किन मानिएन ?’ उनले भने ‘संसदीय दलको नेता म हुँ। म यहीँ छु , कोही कसैले कहीँ बसेर पत्र लेख्दैमा, त्यो मान्यता पाउनु हुँदैन।’
तत्कालीन नयाँ शक्तिका तर्फवाट आफूहरु विजयी भएर आएको र जसपा भनि अहिले दावी गरेका मानिसहरुसँग् पार्टीको कमिटी समेत समायोजन नभएकाले यो गैरराजनीतिक अभ्यास मुख्यमन्त्रीले गरेको उनले बताए।
‘संविधानको धारा १६८ को (५) मा सांसदले सर्मथन गर्ने व्यवस्था भएको र आफूहरु विपक्षी गठवन्धनमा सशरीर सनाखत गर्न उपस्थित भएकाले कानुन वुझेको प्रदेश प्रमुखले यसलाई मान्यता दिन मिल्दैन ’, उनले भने ‘यसरी गैरकानुनी रुपमा आफैंले मात्र सत्ता लिनुपर्छ भनेर गैरकानुनी हर्कत भएमा हामीहरु चुप बस्ने अवस्था हुँदैन।’
आफूहरु अदालतसम्म जान परेमा जान तयार हुने पनि उनले बताए।
प्रतिक्रिया