नवलपरासी- पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरेका छन्।
स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताएका हुन्।
‘संविधानको व्याख्या गर्ने अदालत नै हो। तर राजनीतिक घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता हो,’ उनले भने। संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठन लगायत समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनको भनाइ छ। वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए।
‘अहिलेको राजनीति ब्लेड जस्तो छ। जाने बाल कपाल काट्छ। नजाने गाल गाला काट्छ। त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ,’ उनले भने। अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताए।
‘संसद् २ प्रकारले फर्किन्छ। एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना। विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन्, उनले भने।
त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका थिए। आफ्नो नयाँ दलबारे नेता त्रिपाठीले भने, ‘यसका लागि पूर्वराजदूत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन्। २ ,३ महिनाभित्र मस्यौदा तयार हुन्छ र त्यसपछि पूर्व, पश्चिम र काठमाडौंमा भेला गरेर दल घोषणा गर्नेछौं।’
प्रतिक्रिया