+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश : मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

4KNationalDaily
२०७८ असार २, बुधबार १३:१३ बजे

पाेखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८(५) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री बन्न उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’गरी ३१ सांसद्ले समर्थन गरेका थिए ।

विश्वासको मत लिएपछि मात्रै सदनमा बजेटमाथि छलफल हुने बताइएको छ । मंगलबार गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो ।बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ । अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन् । बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ । गण्डकीमा ११ मन्त्रालय छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily