+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पाएनन् भने के हुन्छ?

4KNationalDaily
२०७८ असार ४, शुक्रबार १०:१४ बजे

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्। आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।

यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि बहुमतको आधार पेस गरेर कांग्रेस संसदीय दलका नेता नेपाली गत जेठ २९ गते मुख्यमन्त्री बनेका हुन्।

त्यसको ३० दिनपछि प्रदेश सभाका विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। तर मुख्यमन्त्री नेपालीले एक हप्तामै विश्वासको मत लिन लागेका हुन्।

नेता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यसमा यताउता भएका खण्डमा उनको पद जान पनि सक्छ।

तर पार्टीको ह्विपविपरीत यसअघि गुरुङले विश्वासको मत लिँदा तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ पुगेको छ। यसअघि ६० थियो। योसँगै अब न्यूनतम बहुमतको संख्या पनि ३० मा झरेको छ।

विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद् विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका छन्।बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ गएका मुख्यमन्त्री नेपाली आज बिहान पोखरा (प्रदेश सभा) आइपुग्ने कार्यक्रम छ।

बहुमत पाएनन् भने के हुन्छ ?

मुख्यमन्त्री पोखरेलले बहुमत पाउन सकेनन् भने उनको पद त जाने नै छ, प्रदेश सभा पनि विघटनतिर जानेछ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका थिए।

तर विश्वासको मत प्राप्त गर्न नसकेका खण्डमा त्यसरी मुख्यमन्त्री कामचलाउ मुख्यमन्त्रीमा परिणत हुनेछ र उसले प्रदेश सभा विघटन र ६ महिनाभित्र मध्यावधि चुनाव घोषणका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ।

यसर्थ यसअघिको समीकरणमा थोरै मात्र फेरबदल भएका खण्डमा गण्डकी प्रदेशमा उलटपुलट हुने सम्भावना छ। बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ पुगेका मुख्यमन्त्री पोखरेल आज बिहान पोखरा फर्किसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily