काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा आज (वुधबार)देखि अन्तिम सुनुवाइ सुरु हुँदैछ।
यो सुनुवाइ जेठ ७ गते मध्यरातमा भएको विघटनको मुद्दामध्ये विपक्षी गठनबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि हुँदै छ।
प्रतिनिधि सभा विघटन विरुद्ध ३० थान रिट दायर भएपनि संवैधानिक इजलासले देउवाको निवेदन मुख्य भएको भन्दै त्यसलाई पहिला सुनुवाइ गर्ने निर्णय गरेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि सुनुवाइ गर्र्र्दै लिखित जवाफ मगाएर अन्तिम सुनुवाइ गर्ने मिति तोकेको थियो।
जेठ २६ गते लामो विवाद अन्त्य गर्दै संवैधानिक इजलासले अन्तिम सुुनुवाइका लागि नौ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको थियो।
सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक समय खर्च नहोस् भनेर बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेको छ।
सर्वोच्चले सुनुवाइका क्रममा इजलास कक्षभित्र रिट निवेदकहरुमध्येबाट एक पटकमा अधिकतम पाँच जना सम्म प्रवेश गराउने आदेशमा उल्लेख छ। निवेदकतर्फका कानुन व्यवसायीहरु एक पटकमा बढीमा तीन जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलहरुमध्येबाट एक पटकमा बढीमा तीनजना उपस्थित हुन पाउने आदेशमा उल्लेख छ।
अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई/दुई जना कानुन व्यवसायीलाई मात्र इजलास कक्षभित्र प्रवेश दिनेगरी प्रवेश पासको व्यवस्था मिलाउन सर्वोच्चको आदेशमा भनिएको छ।
प्रतिक्रिया