+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी किचलो : मन्त्रिपरिषद् विस्तारमा अड्चन, गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा

4KNationalDaily
२०७८ असार ९, बुधबार १०:१४ बजे

काठमाडाैं- मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्।

मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरू भेट्न मंगलबार राति काठमाडौं पुगेका हुन्।

मुख्यमन्त्री पोखरेल काठमाडौं पुग्नुअघि नै कांग्रेसबाट मन्त्रीका आकांक्षीहरू पनि शीर्ष नेताहरू भेट्न त्यहाँ पुगिसकेका थिए। मुख्यमन्त्री पोखरेलले काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई भेटेर प्रदेश सरकारमा मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ।

उनले बुधबार शीर्ष नेताहरूसँग भेट्ने छन्। मुख्यमन्त्री पोखरेल बिहीबार पोखरा फर्किने उनको सचिवालयले जनाएको छ। गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेबीच गठबन्धन भएको थियो।

गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily