+
Search

ताजा अपडेट +

पपुलर +

भ्रामक सूचनाप्रति गण्डकीका सरोकारवालाको चिन्ता : सरकारका प्रवत्ता भन्छन्- सही सुचना प्रवाह हुन आवश्यक

4KNationalDaily
२०७८ असार १३, आईतवार १९:११ बजे

तनहुँ- मिडिया एक्सन नेपालको आयोजनामा भ्रामक सुचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुल माध्यमको प्रयोग गरी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मन्त्री, मन्त्री परिषदका प्रवक्ता कुमार खड्काले सुचना समाचारसँग मात्र समिति रहेकाले सही सुचना प्रवाह हुन आवश्यक रहेको बताए ।

मिडियालाई राज्यले नियन्त्रित गर्न नहुने उनको भनाई छ । मिडियालाई स्वतन्त्रता र स्वायत्त छोडनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार रहेको उनले बताए । ‘हामी मिडियाका विज्ञहरुसँग छलफल गरी मिडिया मैत्री नीति ल्याउन र भएका नीतिहरुलाई परिमार्जन गर्दैछौँ’ खड्काले भने ।

सञ्चार क्षेत्रले स्व–नियमन गरोस भन्ने हाम्रो चाहना हो, कतै बाटो बिरायो भने प्रेस काउन्सिलले कदम चालोस र त्यस भन्दा माथि जान परे न्यायपालिका छदै छ, कार्यपालिकाहरुको कुनै हस्तक्षेप नहोस भन्ने हामी चाहन्छौँ, उनले भने । पत्रकारलाई स्रोत र साधन सम्पन्न बनाउन र क्षमता अभिवृद्धिका लागि अधिकतम सहयोग गर्ने प्रवक्ता खड्काले सोही अवसरमा प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले सामाजिक सञ्जाल अहिलेको प्रमुख चुनौती भएको बताइन् । समाजले सुचना दिने माध्यमको रुपमा हेरेको भएपनि सामाजिक सञ्जालबाट गलत सुचना सम्प्रेरण हुदै आएको उनले बताइन् । सामाजिक सञ्जाल र दर्ता नभएका न्युज र्पोटल गलत र भ्रमपुर्ण सुचना प्रवाहको माध्यम बन्दै गएको विषय चिन्ताजनक भएको उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले प्रविधिको बिकाससँगै यसको सदुपयोग कसरी गर्ने भन्ने चुनौती पनि थपिएको बताए । प्रविधिले आम मानिसमा सुचना पहुँच बढाएको भएपनि गलत सुचनाको प्रयोगले समाजलाई नकारात्मक दिशा तर्फ डोराएको उनको भनाई छ । डिजिटल मिडिया मार्फत सुचना प्रवाह छिटो हुने भएकाले सञ्चारकर्मीहरुले अत्यन्त संयमीत भएर सुचना सम्प्रेषण गनुपर्ने शर्माले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले भ्रामक सुचना रोकथाम तर्फ अझै नियमक संस्थाको नजर कम परेको बताइन ।

‘केही सञ्चार माध्यमले आफ्नो फाइदाका लागी गलत सुचना प्रवाह गर्दै आएको पनि पाइन्छ यसले समग्र प्रेस जगतकै विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ ’ उनले भनिन । मिडिया सामग्रीको भ्युज बढाउने नाममा गलत सामग्री सम्प्रेषण गर्ने प्रवृत्तिले गर्दा डिजिटल मिडियाको प्रयोग थप चुनौतीपुर्ण बन्दै गएको भण्डारीको भनाई छ ।

कार्यक्रममा मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिताजन्य विषयवस्तुलाई नियमन गर्न बनेका संघसंस्थाले पत्रकारिताको मात्र चिन्ता गरे पत्रकारिता व्यवसायिक बन्ने बताए ।

प्रेस काउन्सिल जस्ता संस्थाको कार्यसम्पादनमा स्पष्टता नभएकाले पनि भ्रामक सुचना न्युनिकरणमा केन्द्रित हुन नसकेको पन्थको भनाइ छ । अहिलेको परिवेशमा अधिकतम काम भर्चुअलमा सिमित भएकाले पनि सुचना लिने र दिने पक्ष थप चनाखो हुन आवश्यक रहेको पन्थले बताए ।

मिडिया एक्सनले स्थापनाकाल देखि नै विभिन्न संघसंस्थासँग मिलेर मिडियाको स्वतन्त्रता, बिकास र मिडियालाई जिम्मेवार बनाउने काम गर्दै आएको पन्थले सोही अवसरमा जानकारी दिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मिडिया एक्सन नेपालकी सचिव आरती शिल्पकारले गलत सुचनाबाट सुरक्षित राख्न र पत्रकारले उत्पादन गरेका सामग्रीलाई विश्वसनीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

गण्डकी प्रदेशको ११ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, प्रेस सम्वद्ध संघसंस्थाका अध्यक्ष लगायत ४० भन्दा बढी क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाकी गण्डकी प्रदेश संयोजक सुनिता आचार्यले गरेकी थिइन् ।

मिडिया एक्सन नेपालले ७ वटै प्रदेशमा मिडियाका विभिन्न सवाललमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily