+
Search

ताजा अपडेट +

पपुलर +

‘कार्यकर्ता पोस्न’ गण्डकी सरकारले बाँड्यो १६ करोड, प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

4KNationalDaily
२०७८ असार १६, बुधबार १९:२९ बजे

पाेखरा- चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी छ । यस आर्थिक वर्षमा सम्पन्न योजनाका भुक्तानी गर्नुपर्ने बेलामा गण्डकी प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालय सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ती नयाँ योजना र बजेटसम्बन्धी निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मिलेमतोमा चालु आर्थिक वर्ष अन्त्य हुँदै गर्दा १६ करोड रुपैयाँ नियम विपरीत रकमान्तर गरि बाँडिएको हो । श्रोतका अनुसार कांग्रेसका ६० प्रतिशत योजना र माओवादीको ४० प्रतिशत योजनालाई रकमान्तर गरिएको छ ।

प्रदेशको आर्थिक कार्यविधि ऐनले रातो किताब बाहिरका योजनामा रकामान्तर गर्न नमिल्ने व्यवस्था गरेको छ ।  नियम अनुसार २५ प्रतिशत भन्दा बढि रकमान्तर गर्न पाइदैन तर सरकारका सत्ता साझेदारी गरेका दुई ठूला दलको मिलेमतोमा नियम मिच्दैं करोडौं रुपैयाँ बाँडिएको छ ।

१० दिन भित्रै योजना सम्पन्न गर्न असम्भव नै भएकाले करोडौँको योजना आफ्ना कार्यकर्ता पोस्नकै लागि विनियोजना गरिएको हाे । १३० योजनाका सूचीमध्ये ८३ आयोजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका छन् । ती सबै योजना चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश छैनन् । यसरी आर्थिक वर्ष सकिनै लाग्दा मुख्यमन्त्री पोखरेलले ठूलो बजेट रकमान्तर गरेका हुन् ।

प्रदेश सरकारको चालु आर्थिक वर्षमा चालुतर्फ १४ अर्ब १४ करोड र पुँजीगततर्फ २० अर्ब ३८ करोड बजेट विनियोजन गरेको थियो ।असार पहिलो सातासम्म गण्डकीमा पुँजीगततर्फ १० अर्ब ४० करोड (४७.८७ प्रतिशत) र चालुतर्फ ५ अर्ब ६० करोड (३९.९९ प्रतिशत) खर्च भइसकेको छ ।

प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्।

कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच पोखरामा भएको कुराकानीका क्रममा उनले कानुन मान्ने नाममा जनता मार्न नसकिने बताएका हुन्।

‘लमजुङमा गाडी नै हिँडेन त्यो सफा गर्न हामीले कहाँबाट पैसा पठाउने? किनकि दोर्दीमा त्यस्तो हुन्छ भनेर पहिलेको सरकारले पैसा त राखेको छैन। नयाँ बजेट र कार्यक्रम पनि आयो। बजेटमा त्यस्ता खालका कार्यक्रमहरूको बाहुल्यता छ। धेरैजसो खर्च हुँदैनन्, भएनन्। खर्च नभए त्यो फेरि ढुकुटीमा फर्कने हो’, उनले भने, ‘रकमान्तरलाई अहिले कतिपयले अपराधका रूपमा भ्रष्टाचारका रूपमा पनि परिभाषित गरेका छन्। त्यो हैन कि भन्ने मलाई लाग्छ। जनतालाई अप्ठ्यारो परेको छ, जाली किन्न परेको छ। कोहीले लौन हजुर घरछेउमा जालीमा ढुङ्गा हाल्देऊ भनेर घर बचाउन खोज्यो भने असारमा बजेट ल्याउँछौं, भदौमा तपाईंलाई अख्तियारी आउँछ, काम असोजमा गर्नुहोला भनेर भन्ने हो भने त बाढीले त समस्या बुझ्दैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily