+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राजदूतकाे बाक्लिदाे भेटघाट : एकै दिन प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसँग भेट

4KNationalDaily
२०७८ श्रावण १, शुक्रबार १८:५३ बजे

काठमाडौ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् ।

उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

प्रचण्ड र एमाले नेता नेपालसँग भएको भेटमा भने चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेकी थिइन् । नेपालको ‘राजनीतिक कोर्स’ अब कसरी अगाडि बढ्छ भन्ने पनि उनको चासो रहेको स्रोतले बतायो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली नै पठाएको थियो ।

५ माघमा चीनका विदेशमन्त्री वाङ यीले निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन सम्वादमा नेपालको राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए ।

जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि उसले कुनै प्रतिक्रिया दिएन । बरु नेपालका साना ठूला सबै राजनीतिक दलहरुसँग भर्चुअल माध्यमले सामूहिक छलफल भने गर्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily