+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशका कानुनमन्त्री थापा भन्छन्: मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीमा निहीत

4KNationalDaily
२०७८ श्रावण १२, मंगलवार ०७:०१ बजे

पोखरा- गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफ्नो नियुक्तिलाई लिएर आएका समाचारप्रति ध्यानाकर्षण जनाएका छन्। मन्त्रिपरिषदको सदस्यको नियुक्तिको सम्पूर्ण अधिकार मुख्यमन्त्रीमा निहीत रहेको मन्त्री थापाले बताएका हुन्।

‘नेपाली कांग्रेसका लागि मैले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिका लगायत म कानुनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषदको सदस्यमा कानुन, सञ्चार तथा संसदीय मामिला मन्त्रिका रुपमा नियुक्त गर्नुभएको हो,’ विज्ञप्तिमा थापाले भनेका छन्।

तनहुँका समानुपातिक सांसद डोबाटे विश्वकर्माको साटो थापा मन्त्री बनेको भन्ने समाचार आएका थिए। तर थापाले विश्वकर्माको नाम उल्लेख नगरी सोही सन्दर्भको विज्ञप्ति जारी गरेका छन्। आफूलाई जोडेर गरिएका अनर्गल प्रचारहरुका भ्रममा नपर्न उनले अनुरोध गरेका छन्।

‘गण्डकी प्रदेशको राजधानीबाट एकमात्र निर्वाचित म मन्त्रीको जिम्मेवारीमा रहिरहँदा नेपाली कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र मेरो छवि धुमिल्याउनका लागि अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत छ,’ उनले भनेका छन्, ‘पार्टीकै केही पदाधिकारीहरुले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई नै आक्षेप आउने गरी तथा महाधिवेशनलाई नै प्रभाव पार्ने गरी पार्टी नीति विपरीत नै गुटगत रुपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily